पुनर्वास नगरपालिकाको वडा नं. ७, परासन गाउँमा अवस्थित यस विद्यालयको भौगोलिक अवस्थाका हिसावले साविक परासन गा.वि.स. वडा नं. २ मा अवस्थित थियो । भने यसको पूर्वमा दोँदा नदी र सो नदिको परीपट्टी भारतको दुधुवा नेसनल पार्कको घना जङ्गल रहेको छ। त्यसै गरी, उत्तरमा पुनर्वास वडा नं. ५ को राना थारु वस्ती उग्रतारा (उदरी) वस्ती रहेको छ । पश्चिममा पुनर्वास नगरपालिका वडा नं. ७ को बुद्धवस्ती र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती हुँदै प्रतिभा नगर टाउन जाने बाटो छ। र दक्षिणमा पुनर्वास नगरपालिकको वडा नं. ८ पृथ्वीवस्ती रहेकोछ। यसको पूर्व दक्षिणमा अवस्थित पुनर्वासकै प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय क्षेत्र अन्तर्गत पिकनिक स्पोर्ट “रानीवन” आफैंमा मुस्कुराईरहेको आभास हुन्छ।भने त्यसकै लगभग पूर्व दक्षिणमा लमतन्न अवस्थामा रहेको नेपालकै एक नमूना ताल जुन नेपाल भरतको विवादित प्राकृतिक स्रोतका रुपमा चिनिएको “प्याराताल” राष्ट्रिय गौरवको लागि संघर्ष गरिरहेको छ । यस विद्यालयको सेवा क्षेत्रमा पर्ने केही टाढाका वस्ती बाहेक विद्यालय अवस्थित रहेको परासन गाउँ नेपालकै पुरानो जाति आदिवासी/जनजाति तथा धर्ती पुत्रका रुपमा परिचित एवम् महाराणा प्रतापका सन्तती, रानाथारु जातिका बालबालिकाहरु यहाँ अध्ययन गदर्छन् । सामाजिका रुपले प्रायः संयुक्त तथा बृहत परिवारमा बस्न रुचाउने यहाँका मानिसहरु एक आपसमा अति मिलनसार र सोझोपनका धनी छन् । त्यसै गरी, आपसमा आईपर्ने सानातिना विवाद,झै-झगडा र घरायसी कलहलाई आपसमै वसी भलमान्सा/पधना परम्पराबाट सुल्झाउने परम्परा रहेको छ । भने यस जातिको प्रमुख पर्वका रुपमा प्रसिद्ध होली पर्वलाई हर्षोल्लास एवम् खुशीयाली बाँडीचुडी मनाउने गर्दछन्। यस पर्वलाई पहिले-पहिले एक महिना अवधिभर मनाउने प्रचलन रहेता पनि हाल आएर समय सान्दर्भिक हुँदै होली मानाउने समयावधि छोट्टिदै गएको पाइन्छ । उक्त होली पर्वमा गाउँ भरिका बुढापाका तथा युवायुवतीहरु जम्मा भइ गोलो घेरा बनाई दुई समूहमा, कृष्णा लिला झल्किने गीत गाउँदै घर घरमा फगुवा माग्ने र एकआपसमा रङ दल्ने गर्दछन्।यस गाउँमा बस्ने मानिसहरु प्रायः हिन्दु धर्मालम्बी भएता पनि जन्मदेखि मृत्यूसम्मका आफ्नै मौलिक संस्कारहारु रहेको पाइन्छ। भाषाको हिसाबमा छुट्टै लिपि नभएता पनि नेपाली तथा हिन्दि भाषाको समिश्रण भएको छुट्टै मौलिक भाषाको प्रयोग रहेको छ। यस गाउँमा आफ्ना सन्ततिहरुलाई शिक्षाको उजयालो घामबाट बञ्चित गराउन हुँदैन भन्ने अभिप्राय अनुरुप शिक्षाको उज्यालो प्रकाश फैलाउने उद्देश्यले वि.सं. २०५५ सालमा 'श्री राष्ट्रिय प्रथमिक विद्यालय'को नामबाट यस विद्यालयको स्थापना भएको पाइन्छ । विद्यालय स्थापनाको २ वर्ष पछि मात्रै वि.सं. २०५७ सालमा कक्षा एक सञ्चालन अनुमति प्राप्त गरे पश्चात वि.सं. २०७२/०१/३० सम्म कक्षा ७ सम्मको कक्षा सञ्चालन अनुमति प्राप्त गरे पनि शै.स. २०७९ सम्म कक्षा १-७ जेनतेन सञ्चालन गर्दै जाँदा आवश्यक दरबन्दीको कमी, भौतिक संरचनाको अभाव र विद्यालयले आर्थिक भार थेग्न नसकेका कारण आम अभिभावक,समाजसेवी,बुद्धिजीवीहरुको भेला आयोजना गरी भौतिक एवम् आर्थिक स्रोत जुटाउने विकल्प नभएपछि “घाँटी हेरी हाड निल्ने” भनाईलाई चरित्रार्थ गर्दै पुनः कक्षा ६ र ७ हटाउनुपर्ने वाध्यात्मक परिस्थिति सृजना हुन गई शै.स. २०८० बाट कक्षा १-५ मात्रैमा सिमित राख्नु परेको तीतो यथार्थ रहेको छ। यस विद्यालयले समयको माग र विकासको गतिसँगै विभिन्न आरोह र अवरोह पार गर्दै आजको अवस्था सम्म आईपुग्न सफल भएको छ । आदर्श समाजका लागि सभ्य नागरिक निर्माण गर्न तथा समुन्नत समाज निर्माण गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा स्मरण गरी यस विद्यालयको स्थापना गर्ने समाजसेवी र शिक्षाप्रेमी अगुवाहरुको योगदान र समर्पणको उच्च कदर गर्न चाहन्छु । यस विद्यालयले विगतमा हासिल गरेको जस्तो शैक्षिक उपलब्धिहरु वर्तमान समयमा प्राप्त गर्न हाम्रा सामु थुप्रै समस्या र चुनौतिहरु रहेका छन् । आकर्षक भौतिक संरचनाको अभाव, न्युन शिक्षक दरबन्दीको अभाव, अभिभावकहरुको निजी विद्यालय तर्फको मोह, विद्यालयप्रति स्थानीय समूदायको चासो कम हुनु आदि कारणहरुले गर्दा दिनानु दिन विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको अवस्था छ । यस्ता समस्याहरु सुल्झाउँदै शैक्षिक उन्नति हासिल गरी विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न राज्यको एकल प्रयासले मात्र सम्भव हुँदैन । र यसमा समुदाय, व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सक्रिय पहलकदमी अवश्यक पर्दछ । राज्यले चाल्ने कदममा सबैको सार्थक सहभागिताले शैक्षिक गुणस्तर उकास्न सकिन्छ भन्ने बिचार व्यक्त गर्न चाहन्छु । विद्यालयले सञ्चालन गर्ने शैक्षिक क्रियाकलाप र यहाँबाट उत्पादित जनशक्तिको गुणस्तरलाई सापेक्ष रुपमा हेर्न सकिन्छ भन्ने लाग्छ । अन्त्यमा विद्यालयलाई हालको अवस्थामा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस विद्यालयलाई थप उचाईमा पुर्याउन यस क्षेत्रका समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।
