- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
विद्यालय सम्बन्धी जानकारीःस्थापना वर्षः २०५५/०१/२८
स्थानः परासन गा.वि.स. वडा नं. २ परासन, कञ्चनपुर (साविक)
पुनर्वास नगरपालिका वडा नं. ७, परासन, कञ्चनपुर (हाल)
इतिहासः नेपालकै एक आदिवासी जनजाति वर्ग रानाथारु जातिको वसोवास रहेको यस वस्तीलाई परासिन नामाकरणबाट चिनिन्थ्यो भने साविक रुपमा हाल वसोवास गरेको क्षेत्रभन्दा उत्तर पूर्वमा भारतको दुधवा नेशनल पार्कदेखि पश्चिममा रहेको दोदा नदी किनारको वारीपट्टी रहेको थियो । भने पछि गएर उक्त दोँदा नदीको बाढीले वसोवास गर्न कठिन भइ तत्कालिन पुनर्वास कम्पनी लि. बाट हाल वसोवास गरेको ठाउँमा व्यवस्थित गरिएको कुरा यहाँका समाजसेवी, वयोबृद्ध तथा शिक्षाप्रेमीहरुबाट थाहा हुन्छ । उक्त पुरानो वस्तीमा यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय श्री वगिश्वरी नि.मा.वि. खुलेको कुरा पनि बुझिनमा आउँछ भने वस्ती सर्ने क्रम सँगसँगै सो विद्यालय पनि त्याहाँबाट सरेर हालको पुनर्वास न.पा. ८, पृथ्वीवस्तीमा सर्न गएको थियो ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन पश्चात यस वस्तीमा गाउँलेहरुको प्रयासबाट आफ्नै गाउँमा विद्यालय खोल्ने मनसायले गाउँका शिक्षाप्रेमी,भद्रभलादमी तथा समाजसेवीको अथक प्रयास र तत्कालिन परासन गा.वि.स. अध्यक्ष स्व. शालिग्राम शर्माको पहलमा मिति २०५५ साल बैशाख २८ गतेका दिन समाजसेवी श्री वनवारी रानाको अध्यक्षता तथा गाउँका पधना श्री नारु रानाको घर (बँगलिया) मा गाउँका केही बालबालिकाहरु भर्ना गरी कक्षा १ र २ सञ्चालन गरिएको र श्री राष्ट्रिय प्रा.वि. नामाङ्करण गरिएको थियो । त्यसैगरी दुई जना संस्थापक शिक्षकहरु क्रमशः श्री विदूर राना र श्री सम्झना राजभण्डारीले उक्त स्थानमा लगभग ६ महिनासम्म पठनपाठन गरिए पश्चात राना थारु जातिको कूल देवता भुइँया पुजा गर्ने ठाउँ नजिकै रहेको शिव मन्दिर पछाडी भिरालो जमिनमा गाउँलेहरुको सहयोगमा कच्ची टहरो बनाइ सारिएको थियो । यसै गरी, करिब दुई शैक्षिक सत्रसम्म जनजागरण सामुदायिक वन समिति तथा यस गाउँको परासन युवा क्लबको सहयोगमा घर निर्मांण गर्न र फर्निचरका लागि काठ सहयोग उपलब्ध गरिएको थियो भने सो सहयोगबाट चार कोठे कच्ची टहरो निर्माण भएर करिब दुई शैक्षिक सत्रसम्म विद्यालय सञ्चालन गरिसकेपछि मात्रै तत्कालिन जिल्ला शिक्षा कार्यालय, महेन्द्रनगरबाट २०५७/०१/२६ मा कक्षा १ को कक्षा सञ्चालन अनुमति प्राप्त भएको थियो । त्यसै गरि, २०५८/०१/०९ मा कक्षा २ र २०५८/०८/२७ मा कक्षा ३ को कक्षा सञ्चालन अनुमति प्राप्त भयो भने मिति २०६१ साल जेठ १७ गते कक्षा ४ र ५ को कक्षा सञ्चालन अनुमति प्राप्त भएको थियो । त्यस्तै,आ.ब. २०६०/०६१ तिर RRN नामक गैर सरकारी संस्थाको सहयोगबाट दुई कोठे टिनको छाना भएको भवन,आ.ब. २०६२/०६३ मा दुई कोठे परियोजना भवन र आ।ब. २०७१/०७२ मा शिक्षा विभागको अनुदानमा जिल्ला शिक्षा कार्यालय,महेन्द्रनगरबाट दुई कोठे भवन प्राप्त भए पश्चात मिति २०७१/१२/२९ मा कक्षा ६ र मिति २०७२/०१/३० मा कक्षा ७ को कक्षा सञ्चालन अनुमति लिई शै. स. २०७९ सम्म कक्षा १ देखि ७ सम्म सञ्चालन गरियो भने विद्यालयको भौतिक तथा आर्थिक अभावका कारण कक्षा ६ र ७ सञ्चालन गर्न कठिनाइ सिर्जना भएको र पुनर्वास नगरपालिकाले दरबन्दी मिलान कार्य नगरेका कारण यस विद्यालयमा दरबन्दी न्युन भइ आर्थिक भार थेग्न नसकेको र नगरपालिकाको कक्षा घटाउने आदेश भइ आम अभिभावकको तथा गाउँका भद्रभलादमी, बुद्धिजीवी, समाजसेवीहरुको भेलाबाट राय सल्लाह लिँदा अभिभावकहरुको आर्थिक सहयोग गर्न नसकिने भएकोले कक्षा ६ र ७ घटाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएका कारण शै.स. २०८० बाट कक्षा ६, ७ घटाइ कक्षा १-५ मात्र सञ्चालन गरिएको थियो ।
विद्यालयको बारेमा अन्य जानकारीः यो विद्यालय कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करीब ७५ कि.मी. दक्षिणपूर्व तथा भारतको दुधुवा नेशनल पार्कबाट लगभग ५०० मी. पश्चिम दोँदा नदीको अति बाढी प्रभावित क्षेत्र नजिकै रहेको छ।यस विद्यालयको उत्तरतर्फ पुनर्वास- ५ को उदरी गाउँ रहेको छ भने दक्षिणमा पृथ्वीवस्ती रहेको छ । त्यस्तै गरि, पश्चिम दिशामा बुद्धवस्तीको श्री बालबागिश्वरी मा. वि. अवस्थित छ। हाल यस विद्यालयमा एक प्राथमिक स्वीकृत स्थायी शिक्षक दरबन्दी, एउटा बालविकास दरबन्दी र ३ ओटा प्राथमिक राहत दरबन्दी र एक कार्यालय सहयोगीको दरबन्दी गरी जम्मा ६ ओटा सरकारी अनुदान दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ७ मा रहेको आदिवासी/जनजाति मात्रै प्रायः वसोवास परासन गाउँभित्रका बालबालिकाहरु पठनपाठन गर्न आउने गरेका छन् भने पुनर्वास नगरपालिका वडा नं. ५ उदरी गाउँ, बुद्धवस्ती र पुनर्वास नगरपालिका वडा नं. ७ कै दक्षिणपट्टी रहेको चौधरी टोलका बालबालिकाहरुलाई यो विद्यालय पठनपाठनका लागि पायक पर्ने स्थानमा रहेको छ । यस विद्यालयको सेवा क्षेत्र भित्र करीब २५० भन्दा बढी घरधुरीहरुमा झण्डै १५००/१७०० भन्दा बढी जनसंङ्ख्यामा ५३% महिला र ४७% पुरुषको जनसङ्ख्या रहेको छ। करीब ५०० को हाराहारीमा विद्यालय जाने उमेरका बालबालिकाहरु रहेका छन, भने सेवा क्षेत्रका अधिकांश जनताहरु कृषि पेशामा संलग्न रहेका छन् । केही युवाहरु तेस्रो राष्ट्र र भारतमा आफ्नो श्रम बेचिरहरका छन् भने यहाँ विद्यालय बिचैमा छाड्ने, कम उमेरमा विवाह गर्ने र केही युवायुवतीहरु दैनिक ज्यालादारी काममा संलग्न भएको पाइन्छ । र विद्यालय बिचमै छाड्नेहरु लागू औषध जस्तो कुलतमा परेको अवस्था पनि रहेको छ।जसका कारण निरक्षर नागरिक र अशिक्षित वर्गको बाहुल्यता देखिन्छ । यस गाउँमा आदिवासी/जनजातिको बाहुल्यता भए पनि केवल एक घर परिवार नेवार जातिको रहेको छ। त्यसै गरि, केही घर परिवार चौधरी जातिको पनि रहेको छन् । अधिकांश मानिसहरु गरीबीको रेखा मुनि रहेका छन् । यहाँ प्रायः रानाथारु भाषीहरु रहनुका साथसाथै नेवारी भाषी एक परिवार र चौधरी थारु भाषा बोल्ने मानिसहरु पनि रहेका छन् । सामाजिक चेतनास्तर विस्तारै बामे सर्दैछ । र विगतको तुलनामा वर्तमान समयमा यस समुदायका मानिसहरुमा केही परिवर्तनहरु नआएको अवस्था भने छैन्।
- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
विद्यालय उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गर्न बालमैत्री विद्यालय वातावरण सिर्जना गरी यस विद्यालयलाई उत्कृष्ट थलोका रुपमा विकास गर्नु ।
- विद्यालय वातावरणलाई पारिवारिक, सुरक्षित एवम् बालमैत्री बनाउने,
- औसत सिकाइ उपलब्धि वृद्धि गर्ने
- विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
- विद्यालयका शैक्षणिक क्रियाकलापहरुमा अभिभावकहरुको संलग्नता बढाउने
- विद्यार्थिलाई शैक्षिक, सामाजिक र व्यक्तिगत दृष्टिकोणले सशक्त बनाउने ।
